प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिथिलिकरणप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई अगाडि बढाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाहरुको निर्माण र तिनीहरुको उपादेयताबारे समीक्षा गर्दै त्यसका सरोकारवाला मुलुकहरुले संयुक्त निर्णय लिनु उचित भएको भन्दै सार्क कुनै मुलुकको असहयोगका कारण शिथिल हुनु दुखद भएको प्रधानमन्त्री ओलीले बताए।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सार्कको अध्यक्षका हैसियतमा त्यसको शिखर सम्मेलनका लागि नेपाल इच्छुक रहेको बताए।
सार्क लगायत अन्य क्षेत्रीय उपक्षेत्रीय र दुई पक्षीय संस्था तथा संयन्त्रहरुलाई साझा हितमा अगाडि बढाउन र सम्बन्धित पक्षका साझा हितमा तिनीहरुको प्रयोग गर्न उनले सबैसँग आग्रह गरे।
सार्कका सन्दर्भमा भारतको नाम उल्लेख नगरे पनि नेपाल तथा भारतका प्रधानमन्त्रीको तहमा सहमति बनी निर्मित प्रवुध्द व्यक्तिहरुको समूहको प्रतिवेदन बुझ्न भारतले देखाएको आनाकानीप्रति उनले असन्तुष्टि व्यक्त गरे। प्रतिवेदन दुवै मुलुकले बुझ्ने आशा उनले व्यक्त गरे।
सन १९५० को नेपाल—भारत शान्ति तथा मैत्री सन्धि लगायत दुई पक्षीय सम्बन्धलाई पुनरावलोकन गर्न र त्यसलाई अध्यावधिक तुल्याउन दुवै पक्षले बुझाएको साझा सिफारिस छिट्टै दुई सरकार प्रमुखले बुझ्ने आशा आफूले राखेको उनले बताए।
गोर्खा भर्ती सम्बन्धि सन १८१५ को नेपाल र बेलायतबीचको सन्धि वास्तवमा सन १९४७ मा भारत स्वतन्त्र भएपछि उनीहरुले दुई पक्षीय रुपमा त्यसलाई अगाडि बढाएको तर नेपाललाई त्यो सहमतिबाट बाहिर राखेको उनले बताए।
नेपाललाई बाहिर राखेर गोर्खा भर्ती जारी राखेकोमा आपत्ति जनाएपछि अहिले तीन पक्षीय प्रक्रियामा त्यसलाई सम्बोधन गर्ने प्रक्रिया अगाडि बढेको प्रधानमन्त्रीले बताए।
पराराष्ट्र मन्त्रीका रुपमा करिब ४० महिना ओली सरकारमा रहेका प्रदीप ज्ञवालीद्धारा लिखित ‘फरेन पोलिसी अफ नेपाल असोसियसन एण्ड प्रायोरिटिज र इन्टर नेशनल इङ्गेजमेन्ट’ सँगै आईएफएद्धारा प्रकाशित अन्य दुई पुस्तकहरुलाई प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए।
पूर्व पराराष्ट्रमन्त्री ज्ञवालीले आन्तरिक र बाह्यमञ्चमा नेपालको अन्तर्राष्ट्रिय मान्यताबारे आफ्ना प्रस्तुतिहरुलाई संस्थागत स्मरणमा राख्न ती प्रयासहरुलाई लिपिवद्ध गरेको बताए।
नेपाललाई विश्व रंगमञ्चमा स्पष्ट विश्व मान्यता सहितको सार्वभौम मुलुकका रुपमा प्रस्तुत गर्न आफूले अनेक प्रयास गरेको र त्यसमा निकै हदसम्म सफलता हासिल गरेको ज्ञवालीले दावी गरे।
नेपालले आफ्नो राष्ट्रिय हित र मान्यतालाई प्रस्तुत र प्रवर्द्धन गर्दा अरु कसैको विरोधका रुपमा हेर्न नहुने बताउँदै पूर्वमन्त्री ज्ञवालीले नेपाल सहमतिद्धारा निर्देशित मुलुक हो भन्ने मान्यता बोकेकाहरुको भ्रम यसबाट टुटेको बताए।
पृथ्वीनारायण शााहको ‘दुई ढुंगाको तरुलको उपमा तत्कालीन परिवेशमा सान्दर्भिक भए पनि रुपान्तरित अवस्थामा त्यसका जराहरु फैलिँदै गएको तथ्य’लाई आत्मसात गर्दै अगााडि बढ्नुपर्ने ज्ञवालीले बताए।
अन्तर्राष्ट्रिय मामिला, कस्तो विश्व प्रणाली र मूल्यमा नेपालको विश्वास छ जस्ता विषयलाई समेटेर व्यापक रुपमा प्रस्तुत भएका ज्ञवालीको प्रशंसाा गर्दै ओलीले भने, ‘आफ्नो भौगोलिक आकारमा केही परिवर्तन बीचबीचमा आएको भए पनि नेपाल सधैँ स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक रहिआएकाले यी प्रस्तुतिमा आजका मात्र विषयहरु सम्मिलित छैनन्। यसै सन्दर्भमा गत साता अर्थात अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा योगको रचना र अभ्यास नेपालबाट शुरु भएको अभिव्यक्तिलाई नेपालको प्राचीनताकै सन्दर्भमा उनले बुझ्नुपर्ने बताए।