प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट एमाले नेता एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई गृहमन्त्रीसँगै अन्य ६ जनालाई सामेल गरि मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।
बिस्तारित मन्त्रिपरिषदमा ६ जना क्याविनेट र एक जना राज्यमन्त्री हुने छन्।
स्रोतका अनुसार गृहमन्त्री पदका दाबेदार युवा संघका संस्थापक अध्यक्ष महेश बस्नेतलाई निराश बनाउँदै ओलीले अधिकारीलाई गृहमन्त्री बनाउने भएका हुन्। यस्तै नारदमुनी रानालाई वनमन्त्री बनाउने उनको तयारी छ।
ओलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई सन्चारमन्त्री बनाउने तयारी गरेका छन्। योसँगै पती र पत्नीलाई आलोपालो मन्त्री बनाउने आफ्नो प्रवृतिलाई ओलीले निरन्तरता दिएका छन्।
यसअघि उनले जुली महतोलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीबाट हटाएर उनका पती रघुवीर महासेठलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए।
ओलीले राजकिशोर यादवलाई उद्योगमन्त्री, ज्वालाकुमारी साहलाई कृषि मन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, आशा विकलाई वन राज्यमन्त्री बनाउने तयारी गरेका छन्।
माधवकुमार नेपाललाई त्यागेर ओली पक्षमा लागेको केही समयमै गणेश पहाडी उनको मन्त्रिपरिषदमा पुग्ने भएका हुन्।
नेता आशा कुमारी विकले बालुवाटारबा यतिञ्जेल आफू राज्यमन्त्री बन्नेबारे खबर नआएको तर पूर्वमन्त्री प्रेम आलेले सरकारले नारदमुनी रानालाई वनमन्त्री र आफूलाई वनराज्यमन्त्री बनाउन लागेको जानकारी दिएको बताइन्। स्रोतका अनुसार यी सबैलाई बिहीबार नै शपथ खुवाउने तयारी भएको छ।