सिन्धुलीको सुनकोशीले कोरोना विरुद्धको १३० डोज खोप गर्यो फिर्ता, गाउँपालिका भन्छः दोस्रो डोज लगाउन कोही आउँदै आएनन्


सिन्धुलीः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट पठाएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज जनस्वास्थ्यलाईनैं फिर्ता गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिकाका लागि पठाएको २२० डोज खोप मध्ये १३० डोज खोप पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई नलगाई जिल्ला जनस्वास्थ्य कार्यालयलाई फिर्ता पठाएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकास झाका अनुसार गाउँपालिकामा २६५ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका थिए, तर दोस्रो डोज खोप लगाउन मानिसहरु नआएको र म्याद पनि गुज्रने बेला हुन लागेकाले जनस्वास्थ्यलाईनैं फिर्ता गरिएको हो ।
जनस्वास्थ्य कार्यालयले गाउँपालिकालाई पुग्ने पर्याप्त खोप पनि पठाएन, २३० डोज खोपले पुगेन र त्यसमा पनि लगाउने मानिसहरु २ दिनसम्म पनि नआएपछि एक्सपायर हुन दिनुभन्दा त अन्य पालिकाका मानिसले लगाउँछन् भनेर हामीले फिर्ता गरिदिएका हौं, झाले प्रदेशखबरसँग भने ।
आफ्नो पालिकाका नागरिकका लागि आएको दोस्रो डोज खोप लगाउनुको साटो तपाई जस्तो जिम्मेवार स्वास्थ्यकर्मीले फिर्ता गर्न मिल्छ ? भन्ने जिज्ञासामा स्वास्थ्य शाखा प्रमुख झाले भनेः ‘मैंले खोप लगाईदिने होइन, कोही पनि आएनन् भनेपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट पनि सोधीखोजी भयो, २ दिनपछि फिर्ता गरिदिएको हुँ ।’
सुनकोशी गाउँपालिकाका सुचना अधिकारी कपिलवहादुर अधिकारीले संकटका बेला नागरिकको जीवन रक्षका लागि ल्याइएको खोप गाउँपालिकाको स्वास्थ्य शाखाले फिर्ता गरेको वारे अनभिज्ञता प्रकट गरेकाछन् । उनले प्रदेशखवरसँग भनेः यस्तो संवेदनशिल विषयमा मलाई केही पनि जानकारी छैन ।
त्यसैगरी खोप फिर्ता गरिएको वारे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले आफुलाई केही पनि जानकारी नभएको खुलासा गरे । पालिका भित्रका फ्रन्टलाइनर र जेष्ठ नागरिकका लागि आएको दोस्रो डोज खोप नलगाई फिर्ता गर्नुभएछ नि ? भन्ने जिज्ञासामा उनले भनेः कोरोना विरुद्धको भ्याक्सिन फिर्ता भएको वारे मलाई कसैले पनि कुनै पनि जानकारी गराएकै छैनन् । त्यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य शाखाले लिनुपर्छ । उनले अगाडि भने–त्यस्तो संवेदनशिल विषयमा म बुझ्छु ।
सुनकोशी गाउँपालिकाका लागि जनस्वास्थ्य कार्यालयले पठाएको २३० डोज खोप मध्ये १०० मात्रै प्रयोग गरिएको थियो भने १३० डोज खोप फिर्ता लिएर आउँदा बाटोबाटै गोलन्जोर गाउँपालिकालाई १० डोज र फिक्कल गाउँपालिकालाई २० डोज पठाएर बाँकी १ सय डोज खोप कार्यालयमा ल्याइएको थियो ।
जेष्ठ नागरिकले थाहै पाएनन् !
कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउने वारे जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभरका सबै पालिकालाई पत्राचार गर्नुका साथै १ दिन अगाबै भ्याक्सिन पु¥याईसकेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय भन्छः पहिलो डोज लगाएका आफ्ना नागरिकलाई दोस्रो डोज लगाउने सूचना दिनु पालिकाकै जिम्मेवारी हो । समाचार स्रोत अगाडि भन्छः स्वास्थ्य शाखाका तर्फबाट दोस्रो डोज लगाउन आउने वारेको सुचनानैं जारी भएन, नत रेडियो र सामाजिक सञ्जाल मार्फत नैंभयो । स्थानीय वासिन्दाहरु दोस्रो डोज खोप लाउने वारे आफुहरुलाई जानकारीनैं नभएको बताउँछन् । गाउँपालिकाले खोप लगाउने वारे वारेमा कुनै सुचना सामाग्री प्रकासन र प्रसारण गरेको देखिएन । न त गाउँपालिकाको वेभसाइटमैं त्यस सम्बन्धी सुचना सामाग्री प्रकाशन भएको पाईयो ।