एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन्, विश्वका अधिकांश देश। विज्ञहरूले भने अब तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन्।
उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्।
सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शय्या छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।
नेपालमा दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको थियो।
तर, अहिले त्यो संख्यामा कमी आउँदै गएको छ। पछिल्लो केही दिनयता संक्रमणदर बढ्दै जाँदा नेपालमा चाँडै तेस्रो लहर सुरु हुने विज्ञहरूले बताएका छन्।
कतिपय चिकित्सकले नेपालमा तेस्रो लहर सुरु भइसकेको समेत उल्लेख गरेका छन्। तर, तेस्रो लहर सुरु भयो भन्दा पनि दोस्रो घट्न ढिलो भइरहेको बताउँछन्, जनस्वास्थ्यविद् डा. केदार बराल।
‘अहिले नेपालमा दोस्रो लहर घट्दै छ। अब यसैलाई तेस्रो लहर भन्ने कि? दोस्रो लहर अलि घटेपछि मात्रै तेस्रो लहर सुरु हुन्छ भन्ने कुरा हो। तर, ठ्याक्कै यतिबेला नै तेस्रो लहर सुरु भयो वा हुन्छ भन्ने हुँदैन’, उनी भन्छन्, ‘दोस्रो लहर घट्दै छ। तर, संक्रमण दर घटे पनि टेस्ट सधैँ बराबर भइरहेको छैन।
अर्को महत्वपूर्ण कुरा के छ भने कति टेस्ट भयो भन्दा पनि टेस्ट गराएकोमा कुन समुदायमा कति पोजेटिभ छ भन्ने देखाउनु सबैभन्दा राम्रो सूचक हो।’
डा. बरालका अनुसार टेस्ट अहिले त्यति धेरै घटेको छैन। जसले गर्दा दोस्रो लहर नै अझै पनि समुदायमा गहिरो गरी छ भन्ने देखिएको छ।
‘हामी केस र टेस्ट रेसियो भन्छौँ। त्यो रेसियो उल्लेख्य मात्रामा घटेको छैन। असको अर्थ के हुन्छ भने टेस्ट थोरै भएको दिनमा पनि केस टेस्ट रेसियो हेर्यो भने त्यस्तो घटेको हुँदैन। टेस्ट थोरै भएपछि पोजेटिभ केस थोरै हुने नै भयो। यी सबै तथ्यांकलाई एकदमै मसिनो गरेर हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘अर्को कुन ठाउँ वा लोकालिटी हो। यो सबै हेरेर टेस्ट कहाँको मानिसमा धेरै भइरहेको छ। कहाँ थोरै भइरहेको छ। कहाँ पोजेटिभ कम छ र कहाँ कम छ। यी सबै कुरा हेरेपछि मात्रै यसबारे गहिरो गरेर तथ्यपूर्ण ढंगले भन्न सकिन्छ।’ यो समाचार देशसञ्चार डटकमले प्रकाशन गरेको छ ।