नेता नेपाल एकता पक्षधर कि खिण्डनकारी !


दिपा भण्डारी: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेपछि निराश बनेका एमाले कार्यकर्ताहरुमा उत्साह थपिएको छ । पार्टी हित बिपरित कामकारबाही गरेपछि पटक पटक कारबाहीमा परेका वरिष्ठ नेता नेपालसहितका नेताहरुलाई लक्षितगर्दै अध्यक्ष ओलीले आफु जुनसुकै मूल्य चुकाएरै भएपनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको घोषणा गरेपछि विभाजनको संघारमा पुगेको एमालेमा रक्तसञ्चार हुने अबस्था आएको हो । अध्यक्ष ओलीको सो आह्वानसँगै फरक दल बनाएर अगाडि बढ्ने रणनीतिका साथ अगाडि बढेका नेपाल समूहलाई नैतिक रुपमा संकट परेको छ ।
ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काएको घोषणा मात्रै गरेनन् कि आफु त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएपछि विखण्डनको पक्षमा देखिएकाहरुले समेत स्वागत गरेकाछन् ।
असन्तुष्ट नेपाल समूहका नेताहरूको मुख्य माग नंै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्ने तर्फ केन्द्रीत रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफु पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएपछि भने अब आम नेता कार्यकर्ताले गंभीर भएर सोच्नै पर्ने भएको छ कि एमालेमा पार्टी एकता विरोधी नेपाल हुन् वा ओली ? ।
पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका बेला त्यसलाई सकारात्मक सोचका साथ छलफल अगाडि बढाउनुको साटो नेता नेपालले प्रचण्डलाई भेट्नुलाई एमाले कार्यकर्ताले शंकाका रुपमा हेरिरहेका छन् । ओलीको हठका कारण एमाले विभाजन भयो भनेर डंका पिटाउनेहरुले नेता नेपालको पछिल्लो भेटघाटलाई भने कसरी लिन्छन् त्यसको विवरण बाहिर आएको छैन ।
ओलीको प्रस्तावपछि सोमवार एकाएक प्रचण्डको राजैतिक सक्रियता र एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।
नेता कार्यकर्ताको दबाबलाई स्वीकार्दै अध्यक्ष ओलीको एकता आह्वानको सन्दर्भमा नेता नेपालको कुनै पनि प्रतिक्रिया आएको छैन तर नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । यस्तो अबस्थामा नेकपा एमाले भित्र वास्तवमा पार्टी एकता पक्षधर को हो र विरोधी वा विखण्डनकारी को हो ? भन्ने कुराको निक्र्यौल पनि ओलीको पछिल्लो स्टेटमेण्टबाट प्रष्ट हुने देखिएको छ ।
फर्कन निकै कठिन !
अध्यक्ष ओलीले पार्टी एकतालाई बजवुत बनाउनकै लागि पटक पटक पार्टीलाई धोखा दिएका बरिष्ठ नेता नेपालसहितका नेताहरुमाथि गरिएको कारबाही यस पटक पनि फुकुवा गरेर उनीहरुले उठाउँदै आएको मागलाई सम्वोधन गरेपनि नेता नेपाल ओलीसँगै सहकार्य गरेर अगाडि बढ्ने संभावना एकदमैं कम रहेको आँकलन गरिएको छ । ओलीको घोषणासँगै नेता नेपाल र प्रचण्डको भेटवार्ताले नेता नेपालका लागि ओली भन्दा प्रचण्ड कम्र्फटेवल बन्दै गएको संकेत गर्दछ ।
पार्टी एकतालाई सदृढ बनाउनकै लागि ओलीसँग सम्वादमा रहेका नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका युवा नेताहरुको आलोचनागर्दै ‘आयाराम र गयारामहरु’को संज्ञा दिएका थिए । ओलीको भुलभुलैयामा साथीहरु लाग्नु भएको छ, हामीलाई दोस्रो र तेस्रो पुस्ताका साथीहरुले साथ दिनुभएन, चोथो पुस्ताका युवा विद्यार्थीहरुले मात्रै साथ दिनुभएको भन्दै नेता नेपालले भर्चुअल बैठकमा भनेका थिए । नेता नेपालमात्रै होइन भिम रावल पनि ओलीलाई अध्यक्ष मानेर जानुभन्दा प्रचण्डलाई सहजै स्वीकार्न तयार देखिनुबाट पनि यो समूहलाई पूर्ववर्ती एमालेमैं फर्कन निकै कठिन बनिसकेको छ । आफ्नै सरकार विरुद्ध आन्दोलनको मोर्चामा राँको बोकेर देश छोड भन्दै नारावाजी गर्ने तहसम्म पुगिसकेका नेता कार्यकर्ताहरु कथंकदाचित मुल घरमैं फर्कने अबस्था आइहाल्यो भनेपनि उनीहरुका लागि त्यो घर पराया जस्तै हुनेछ । किनकी लुगा फाटेको त सिलाउन सकिन्छ, मननैं फाटेपछि के ले सिलाउने ?