प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब एमाले पुनर्मिलनका लागि जेठ २ को रटानको अध्याय सकिएको घोषणा गरेका छन्।
उनले माधवकुमार नेपालका शर्त स्वीकार गरेर अब एकता नहुने बताएका छन्। माधव समूहले ७५ जेठ २ अघिकाे अवस्थामा फर्किए मात्रै एकता हुन सक्ने बटमलाइन प्रस्तुत गरेकाे छ।
आइतबार राति ओलीले ६ बुँदे आह्वान गर्दै जेठ ३ पूर्वकाे अवस्थामा फर्कन तयार रहेकाे तर एकताका लागि सर्वाेच्चमा संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटबाट माधव समूहका सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका थिए।
अध्यक्ष ओलीले शर्तसहित एकताका लागि गरेको ६ बुँदे आह्वान कपटपूर्ण रहेको निष्कर्ष निकाल्दै माधव समूहले खारेज गरेको थियो।
त्यसपछि प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले अब जेठ २ को रटानको अध्याय सकिएको घोषणा गरेका हुन्। उनले माधव समूहसँग एकता हुने असम्भव कोशिश छाड्नुपर्ने समेत बताएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला। तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो। अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ! असम्भव कोशिस छोडौँ।’