६० वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आजदेखि लगाईँदै

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ ।

केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो ।

चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप मंगलबारदेखि दिन लागिएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ वर्षसम्मकालाई खोप दिइने छ ।

यस्तै अरु अधिकांश जिल्लामा ६२ देखि ६४ वर्षसम्मकालाई खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

तर चीनको तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका र उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा यसअघि पहिलो मात्रा लगाउने क्रममा छुटेका ५५ वर्षमाथिकालाई पनि यो चरणको अभियानमा पहिलो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि यो चरणको खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले पनि पहिलो मात्रा खोप लगाउन पाउने छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो मात्रा र ७ लाख १५ हजार १ सय ६३ जनाले दोस्रो मात्रा लगाएका छन् ।