कार्यक्षेत्रमा खटिरहँदा पहिलोपटक जेष्ठको पहिलो साता विराटनगर महानगरपालिका ३ का स्थानीय वेदराज भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
मोरङको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत रहँदा उनलाई जेठ ३ गते संक्रमणले च्यापेको थियो।
संक्रमणले शिथिल बनाएसँगै उनलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। यसक्रममा साथीहरुसँग फोनमा उनले निको भएर निस्किएपछि अझै पनि जनताको सेवामा खटिनुपर्ने बताउँदै आएका थिए।
संक्रमणबाट मुक्त हुँदै ४० वर्षीय प्रहरी हवल्दार भण्डारी जेष्ठ ३ गते केन्द्रबाट घर फर्किएको मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
घरमा स्वास्थ्यलाभ लिइरहेको अवस्थामा उनमा फेरि संक्रमणसँग मिल्ने प्रकारको लक्षण देखियो। कोरोनाबाट मुक्ति पाए पनि लक्षण उस्तै देखिएपछि उनले पुनः दोस्रोपटक परीक्षण गराए। जसमा जेष्ठ १६ गते उनको रिपोर्ट फेरि पोजिटिभ देखियो।
त्यससँगै जेष्ठ १७ गते उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरीले जनाएको छ। तर यसपटक भने उनले कोरोनासँगको युद्धमा हार व्यहोर्न पुगे। भेन्टिलेटरमा उपचारररत हवल्दार भण्डारीको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
मोरङ प्रहरी प्रमुख खड्काका अनुसार जिल्लामा कोरोना संक्रमणबाट प्रहरीकाे मृत्यु भएकाे याे पहिलाे पटक हाे।
कोरोनाबाट सचेत रहँदै उच्च सावधानी अपनाउन आग्रह गरेका खड्काले जीवन रक्षाका लागि सबैले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्नुपर्नेमा जोड दिए।
मोरङमा हालसम्म २ जना प्रहरी निरीक्षकसहित ४१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। प्रहरी प्रमुख खड्काका अनुसार उपचाररत अन्य संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।











