हेटौडा अस्पतालमा हालसम्म ६६ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाकी ६८ वर्षकी महिलाको मंगलबार दिउँसो करिब १ बजे र हेटौंडा–२ की ५२ वर्षकी महिलाको बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।  केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो । 

यससँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत ६६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २४ जना महिला रहेका छन् भने ४२ जना पुरुष रहेका छन् ।