नेकपा एमालेमा एकताः माछा माछा भ्यागुता !


तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट अगाडि बढेको नेपालका कम्युनिष्टहरु न त जुट्न सकेका छन् नत फुट्नबाटै जोगिएका छन् । एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा त बन्यो तर त्यही दल अहिले तीन चिरा हुने अन्तिम चरणमा छ । यो नेपाली कम्युनिष्ट आन्दोलनको महारोग अर्थात मोहनबिक्रम सिंह प्रवृत्ति भन्दा फरक छैन ।
आजिवन पार्टी प्रमुख बन्नैपर्ने रोगबाट एक भएको नेकपा यतिधेरै ग्रसित बन्यो कि अब अहिले त्यसैको एउटा घटक एमालेमा आगो दन्कँदैछ । आगो दन्कनुको मुख्य कारण पनि पदनैं हो भन्ने तथ्य कहिं कतै लुकेको छैन । एमाले भित्र रहेको माधव नेपाल समूहलाई मिलाएर लैजानका निम्ती बिहिवार बिहानसम्म निकै कसरत गरिंदैछ, तर अब नेता नेपालले उठाएका मागहरु पुरा गर्ने घोषणा गरिएपछि २ किनारमा पुगेकाहरु फेरी एकै ठाउँमा आउँछन् भन्ने अबस्था ने देखिंदैन । आफ्नो घरमा आगो सल्काएर बलेसीमा बसेर बिलौना गर्नेहरुकै कारण एमाले न जुट्न सकेको छ, नत फुटको औपचारिक घोषणा गर्न गर्ननैं । एमालेका युवा नेताहरुको सक्रियतामा पार्टी अध्यक्षलाई गलाउने र माधव नेपाललाई लत्र्याउने द्विविधा र अस्पष्टता बीच सुरु भएको एकताको प्रयास नेपाल पक्षका केही नेताका लागि टाउको दुखाई बनिरहेको छ । नेपाल पक्षका नेता भिम रावल र रधुजी पन्तले अहिले पार्टी एकताका लागि गरिएको प्रयासको सबैभन्दा बढी आलोचना गरेका छन् । जसले गर्दा एकता जोगाउन सक्रिय भएका नेताहरु निराश बन्न थालेको देखिन्छ । पार्टी एकताका लागि बनेको कार्यदलमा नेपाल पक्षका सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षीय नेतासँग गएको सोमबार राती राजधानीको याक एण्ड यती होटलमा ४ घण्टा लामो वार्ता गरेर अध्यक्ष ओलीलाई लगाउने र बरिष्ठ नेता नेपाललाई लत्र्याउने निश्कर्ष निकालेका थिए ।
कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न अध्यक्ष ओली सहमत भएपछि केही आशा त पलाएको छ तर अब माधव नेपाल भने विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग छलफल चलाएको प्रति खुशी छैनन् ।
अध्यक्ष ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बटमलाइन सुनाएको बिबरण बाहिर आएको छ । अध्यक्ष ओलीले माधव समुह एमालेमै रहने ग्यारेण्टीलाई पहिलो प्राथमिकता दिनुलाई भने सकारात्मक मानिएपनि नेपाल पक्ष अब पुरानैं एमालेमा फर्कने अबस्था नरहेको निश्कर्षमा छ । अब ओलीले दुई कदम पछाडि हटेरै भएपनि वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरीएको र त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको जानकारी अध्यक्ष ओलीले गराएभने नेपाल समूहलाई पार्टी छोड्न वा नयाँ दल दर्ता गरेर अगाडि बढ्नका लागि निकै कठिन हुने देखिन्छ ।
अध्यक्ष ओलीले यो सन्देश नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेतालाई गराइएको छ भने बार्तामा सहभागी नेपाल समुहका नेताहरुले नेता नेपाललाई दबाब दिन थालेकाछन् । तर नेपाल भने उनीहरुको कुरामा टसकामस भएका छैनन् ।
पछिल्लो समय नेता नेपाल एकता भन्दा बिभाजनतिरै लाग्नुभएको कारण सो समुहका नेताहरुले मनाउन सकिरहनु भएको छैन । स्रोतका अनुसार नेता नेपाल एमालेमै रहँदा भविश्यमा आफूले के पाउने भन्ने मुल प्रश्न उठाइरहनु भएको छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न दबाब दिएको अबस्थामा एमाले नेताहरु बीचको एकता ‘माछा माछा भ्यागुता’ नहोला भन्न सकिने अबस्था छैन । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस््’ नेता नेपाल सहमतिको प्रयास गरिरहेका नेताहरुलाई यस्तै कुरा भन्दै आएका छन् ।
एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भमा नेता नेपालले सो अभिव्यक्ति दिएको स्रोतले बतायो । त्यही कारणले पनि स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल नगरी अन्तिमसम्म एकता बचाउन प्रयाश गर्ने निर्णय लिएको छ । नेता विष्ट र भट्टराईले पहिला विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरे पनि पछि सर्वोच्च जान हच्किएका थिए । तर संसद विघटनको विरुद्धमा उनीहरुसहित नेपाल पक्षका १५ जनाले संयुक्त वक्तव्य जारी गरी ओलीको निरंकुश शैलीविरुद्ध एक हुन नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका थिए । -गुलेली