चीनले अनुदानमा दिने खोप आगामी सातासम्ममा नेपाल आउने

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको हो।

यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ। हालसम्म दक्षिण एशियामा बाङ्ग्लादेश र श्रीलङ्कासहितका देशलाई उपलब्ध गराइएकोभन्दा बढी कोभिड खोप चीनले नेपाललाई अनुदानमा दिएको बताइन्छ।

खोप तयारी अवस्थामा

बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप आगामी हप्ताको सुरुसम्ममा नेपाल आइपुग्नेछ।

उनले भने, “चीनले उपलब्ध गराउने १० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा बेइजिङमा तयार अवस्थामा राखिएको छ। त्यसलाई यही मे महिनाको अन्त्यसम्म वा जुनको सुरुमा नै काठमाडौ पठाउने भन्ने कुरा छ।”

उनले बेइजिङबाट नेपाल पठाइने खोप ‘चाइना एड’ नामक चिनियाँ सहायता निकायमार्फत् आउन लागेको उल्लेख गरे। त्यसलाई काठमाडौसम्म ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ। त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ। त्यहाँबाट प्राप्त हुने खोप कुन्मिङबाट आगामी सातासम्ममा काठमाडौ पठाइने र त्यसको व्यवस्था तिब्बत सरकारले मिलाउने नियोग उपप्रमुख लम्सालले बताए।