सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिनुभएको जानकारीअनुसार मन्त्रिपरिषद बैठकले आज राती १२ बजेबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णयसहित राष्ट्रपति समक्ष सिफारिश गरेको हो । सभामुख अग्नि सापकोटाले दलीय सहमतिबिनै बैशाख ३० गते प्रतिनिधिसभा बैठक बोलाउनु भएको थियो ।
राष्ट्रपतिबाट बिश्वासको मत लिने प्रयोजनका लागि भन्ने किटानी ब्यवस्थासहित संसद अधिवेशन आह्वान भएपनि सभामुख सापकोटाले आफ्नो दलका नेता प्रचण्डको निर्देशनअनुसार एकाएक बैशाख ३० गतेसम्मका लागि आजको बैठक स्थगित गर्नुभएको थियो । संबिधानभन्दा बाहिर गएर सभामुखले आफ्नो अधिकार दुरुपयोग गरेपछि सरकारले आजैबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको हो ।