नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मावध नेपाल समुहले पार्टी एकता नचाहेको तथ्य राख्नुभएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफू जतिसुकै लचक बनेपनि माधव समुह जसरी पनि पार्टी बिभाजन गरिछाडने योजनामा रहेको तथ्य राख्नुभएको हो ।
अध्यक्ष ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको तर नेपाल नै एकता नचाहेको बताउनु भयो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनताटाइम्सलाइ दिएको जानकारीअनुसार अध्यक्ष ओलीले माधव नेपाल, बामदव गौतम र योगेश भट्टराईसँगको कुराकानीबारे जानकारी दिँदै नेता नेपाल पार्टी एकताप्रति इमान्दार नदेखिएको तथ्य सुनाउनु भयो ।
‘म अझै पनि लचिलो भएर आएको छु । मेरो माधब नेपाल, बामदेव गौतम, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो । मैले दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ती केन्द्रीय सदस्यले जनताटाइम्ससँग भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने चाँहि त्यो सम्भव छैन ।’ अध्यक्ष ओलीले नेकपाकालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पार्नुभएको हो । अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको भन्दै आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको घटना पनि स्मरण गर्नुभएको छ ।
‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लाग्ने । पार्टीकै नेताहरूविरुद्ध विषबमन गर्ने । सरकारको आलोचना गर्ने । आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन । एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ,’ ओलीको भनाई थियो ।











