मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा धेरैको ज्यान गएको अध्यावधिक तथ्यांकले देखाएको छ ।
अध्यावधिक तथ्यांकले मेक्सिकोलाई कोरोना भाइरसका कारण धेरैको ज्यान जाने देशको सूचिमा दोस्रो स्थानमा लगेको छ । सबैभन्दा धेरै नागरिक कोभिड–१९ का कारण गुमाउने देश अमेरिका हो । अहिलेसम्म कोभिड–१९ का कारण पाँच लाख ४९ हजार तीन सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण तीव्र आलोचना हुँदै आएको छ ।
विपक्षीले उनीमाथि महामारीको गम्भीरतालाई कमजोर ठानेको र अनुरुप काम नगरेको आरोप लगाएका छन् । यस्तै सुस्त गतिको खोप अभियानका लागि पनि राष्ट्रपति लोपेज दोषी रहेको विपक्षीको आरोप छ ।
मेक्सिकोको स्वास्थ्य मन्त्रालयले अध्यावधिक तथ्यांक प्रस्ततु गरेको हो । सन् २०२१ को छैटौँ हप्तासम्मको तथ्यांकमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा यसअघि भनिए भन्दा एक लाख ८२ हजार ३०१ जना थपिएका हुन् ।
अर्थात त्यो समयसम्ममा कुल दुई लाख ९४ हजार २८७ जनाको ज्यान गएको पुष्टि भएको थियो । फेब्रुअरीको मध्ययता थप २६ हजार ७७२ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । यसरी हेर्दा मेक्सिकोमा कोभिड–१९ का कारण कुल तीन लाख २१ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
मेक्सिकोले तीन लाख १२ हजार भन्दा धेरैको ज्यान गएको ब्राजिललाई पछि पारेको हो ।