डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुखले पक्राउ परेका व्यक्ति र काठ छुटाउन ५ लाख धुस मागे

घर निर्माणका लागि खरिद गरेर ल्याइएको ढोका तथा झ्यालको बिल । फोटोः प्रदेशखबर

डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख अरुणकुमार तिवारी र रेन्जर पदमकुमार श्रेष्ठले एक स्थानीयसँग पक्राउ परेका व्यक्ति र काठ छुटाउन भन्दै ५ लाख रुपैयाँ माग गरेको विवरण बाहिर आएको छ ।
पाँच दिन अगाडि कमलामाई नगरपालिका वडा नं. ७ स्थित अर्चना फर्निचरबाट बिलसहित ट्याक्टरमा ल्याइएका झ्याल ढोका तथा चौकोषहरु डिभिजन बन कार्यालयको गस्ती टोलीले पक्राउ गरेर कानूनी प्रक्रिया अगाडि बढाएको थियो । पक्राउ परेकहरुलाई छुटाई दिनुप्यो भन्दै डिभिजन बन कार्यालय पुगेका नेत्रवहादुर तामांगलाई ५ लाख दिने भएमात्रै तपाईको मान्छे छुट्छन् भनेपछि सो घुस मागेको प्रकरण बाहिर आएको हो । बन कार्यालयको नियन्त्रणमा रहेका शुशिल लामा र सन्तवहादुर थिंगलाई छुटाउनका लागि ५ लाख रुपैयाँ दिए छुटाइदिने भन्दै धुस मागेको कमलामाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कर्णवहादुर घिसिंगले जानकारी दिए ।
कार्यालय प्रमुख थिरवहादुर कार्की विदामा बसेका बेला निमित्त प्रमुख रहेका तिवारीले ५ लाख रुपैयाँ रकम दिएमात्रै छोड्न सकिने बताएपछि स्थानीय बासिन्दाहरुले शुक्रवार मध्यान्ह डिभिजन वन कार्यालय घेराउ गर्नुका साथै उनीहरुलाई कारबाहीको माग गरेको थियो । स्थानीयले कानूनी रुपमै खरिद गरेर ल्याइएका काठहरु पक्राउ गरेर डिभिजन वन कार्यालयका कर्मचारीले निर्दोषहरुलाई मुद्धामा फसाउने काम गरेको भन्दै वडाध्यक्ष घिसिंगले आपत्ती जनाए । पिडितहरुले आजै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सबै कुराको बिबरण सुनाएको र घुस रकम माग्ने तिवारीलगायतलाई पक्राउगरी कारबाही गर्न माग गरेको थियो ।