शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन र मापदण्डहरुको पूर्णतया: पालना गर्न सबैसँग आग्रह गरेको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार शिक्षा मन्त्रालयमा बसेको बैठकले शिक्षण संस्थाहरुका लागि तय गरिएका सबै मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिका अनुसार वर्तमान परिस्थितिमा सम्बन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने बैठकको धारणा छ।
विज्ञप्तिमा भनिएको छ- ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन हुन अनुरोध गरिन्छ, यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ।’
विद्यालयहरुलाई भिडभाड नहुने गरी दैनिक पठनपाठन सञ्चालन गर्न र मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारवाट निर्णय भएबमोजिम विद्यालय सञ्चालन गर्नसमेत मन्त्रालयले सबै शिक्षण संस्थाहरुसँग अनुरोध गरेको छ।











