नेकपा वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज लिखित स्पष्टीकरणको जबाफ दिने भएका छन्।
बुधबार राजधानीको मनमैँजुस्थित एक घरमा दिनभरजसो अर्थात करिव ९ घण्टा नेता नेपाललगायत यो पक्षका स्थायी कमिटी सदस्यहरु तीव्र छलफलमा जुटेपनि ओलीलाई अलग अलग या संयुक्तरुपमा जबाफ दिने र प्रश्न सोध्ने भन्नेबारे निर्क्यौल गर्न असफल भएका हुन्।
ओलीले पार्टी विभाजन गर्ने रणनीतिसहित महासचिव ईश्वर पोखरेलमार्फत नेकपामा रहँदा र एमालेमा आएपछिका गतिविधिलाई आधार बनाउँदै पार्टी विधान उल्लंघन गरेको आरोपसहित नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई तीन दिन अघि चैत्र ९ गते केही साझा र केही अलगअलग प्रश्नहरुसहित स्पष्टीकरण पत्र पठाएका थिए।
पत्रमा उनीहरुलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार भएको देखि ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप लगाइएको थियो।
जबाफ फर्काउने अन्तिम म्याद बुधबार भएकाले त्यसलाई केन्द्रमा राखेर नेपाल खनाल पक्षका स्थायी कमिटी सदस्यहरुले छलफल गरेका थिए।











