मोतिपुर औद्योगिक कोरिडोरलाई अगाडि बढाउन स्थानीयसँग सहमति

रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ।

औद्योगिक करिडोर प्रभावित क्षेत्रका बासिन्दा र औद्योगिक क्षेत्रबीच शनिबार छलफलपछि उक्त सहमति भएको हो। यसअघि औद्योगिक क्षेत्रका कारण प्रभावित भनिएका व्यक्तिहरूको अवरोधका बीच औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।

मौतिपुर औद्योगिक कोरिडोर निर्माणका क्रममा आफ्नो बसोवास समाप्त हुने अवस्थामा पुगेका बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगञ्जका २३ सय घरधुरीका प्रतिनिधि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका बीच सात बुँदे सहमति भएको हो।

स्थानीयको तर्फबाट नमुनाटोल बिकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन्। उक्त सहमति मोतिपुर औद्योगिक क्षेत्रबाट प्रभावित भनिएको बुटवल उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष सन्तबहादुर रानाको रोहवरमा गरिएको छ।

सम्झौतामा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यको स्वागत गर्दै जग्गाको नापजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडि बढाउने उल्लेख गरिएको छ।

त्यसैगरी, शिलान्यासका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा कोरिडोर निर्माणमा कसैले अवरोध गर्न खोजे त्यसको प्रतिवाद गर्ने उल्लेख गरिएको छ। यसका साथै औद्योगिक करिडोर निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानीयले सहयोग गर्ने सहमति भएको उल्लेख गरिएको छ।

यसका साथै औद्योगिक करिडोर निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानीयले सहयोग गर्ने सहमति भएको उल्लेख गरिएको छ।