नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउनु रहेको बताएका छन्।
शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
संसदीय प्रणालीको संरक्षक आफूहरु भएको र संसदीय प्रणालीमा अवरोध आउनु आफूहरुको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आकांक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिए।
संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम आफूहरुले गर्न नहुने उनको भनाइ छ।
उनले भने, ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ। संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो। त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने कुरामा मात्रै आफूलाई केन्द्रीत गरौँ। हामीले त्योभन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ।’
पौडेलले थपे, ‘अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो। आजैबाट सोचौँ। डेडलक भोलि नै हटाऔँ। अरु कुराको स्वार्थमा नलागिदिनुस्। किनभने भविष्य हाम्रो हो। भविष्य लोकतन्त्रको हो। भविष्य लोकतान्त्रिक समाजवादको हो। कम्युनिष्ट फेल भइसकेका छन्। संसदीय व्यवस्थाविरुद्ध हतियार उठाउनेहरु एक–एक गरेर असफल भएका छन्। तर संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम हामीले नगरौँ।’











