प्रधानमन्त्रीले कोरोना खोप आइतबार लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड- १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड- १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरूद्धको खोप लगाउनेबारे जानकारी दिए। त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरूले पनि खोप लगाउने उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरूद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरू हुनेछ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजानेगरी सरकारले तयारी गरिरहेको बताए। कोभिड- १९ विरूद्धको खोप अहिलेसम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रूपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताए। खोपलाई जनतासमक्ष नि:शुल्क पुर्‍याउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

आइतबार कोभिड- १९ विरूद्धको कोभ्याक्स खोपको पहिलो खेप नेपाल आउने भएको छ।

सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ।

सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने कार्यक्रम सुरू गर्दैछ।