नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला भन्छन्ः हामीसँग हतियार छैन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन्।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता बास्तोलाले मुख्य विषयमा जनताको मत लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘जनताको मत लिने गरौँ। हरेक विषयमा जनतमसंग्रह गरौँ भनेका छौँ। यसले जनतालाई परिचालित गर्छ। पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ। यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔँ। अहिले हामी सरकारसँग छलफल गर्छौँ। नयाँ दिशामा जानुपर्छ।’

उनले जनमतसंग्रह के–के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताए।

उनले भने, ‘सबै भन्न सम्भव छैन। खास–खास विषयमा हुन्छ। अहिले हामी सरकारसँग छलफलमा छौँ। संसदीय व्यवस्थाभन्दा पनि लोकतन्त्र मूल कुरा हो। यसको विकसित कुरा गरेका छौँ।’

आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने उनको भनाइ थियो।

उनले भने, ‘नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन भन्दै आएका थियौँ। आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौँ, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौँ। शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीन–चार वर्षमा प्रष्ट भएको छ। सरकारले के महशुस गर्‍यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ। नयाँ बाटोको जरुरी छ भन्यो। त्यही भएर अहिले सहमति भएको हो।’

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाइ छ। उनले भने, ‘त्यही भएर अहिले संसद विघटन गर्नुपर्ने अवस्थामा पुग्यो। अहिले दलभित्र तनाब पैदा भएको छ। लडाईँ चलिरहेको छ।’

उनले आफूहरुसँग हतिहार नभएको दावी गरे।

उनले भने, ‘हामीसँग हतियार छैन। हामीले हतियारको कुरा गरेको होइन। हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो। रेभोलुसन भनेको वार होइन। रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो। एकीकृत जनक्रान्ति हो।’

उनले आफूलाई पटक–पटक हिरासतमा राखिए पनि कुनै यातनाको अनुभव नभएको बताए।