सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सांसदहरू नआत्तिन पनि सुझाए।
‘हामी आत्तिनु पर्ने केही छैन। संसद चल्छ। हामी मजाले अगाडि बढ्न सक्छौं। हामी ढुक्क अवस्थामा छौं’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद किसान श्रेष्ठले भने। आफूहरूको संख्या पनि बढ्दै जाने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका थिए, जसमा २४ जना राष्ट्रियसभा सदस्य उपस्थित थिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिए ।
बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड(नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ। आइतबार संसद बैठक बस्दैछ ।