सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ । माधव=प्रचण्ड समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ ।
‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।
माधव-प्रचण्ड समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ ।











