प्रधानमन्त्री केपी शर्मा ओलीले यदि कोही खान नपाएरै गाउँ जान लागेको भए उनीहरुलाई खाद्यान्न पुर्याउने व्यवस्था गर्नु पर्ने बताएका छन् ।
लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा कोरोना सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।
तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गर्नू ।’
उनले यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।