कोरोना संक्रमणपछि पत्रकार मानछिरिङ तामाङको बयान- न्यूयोर्कमा नयॉ जीवन पाएँ !

गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनीज्वाइं एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवाज्यूलाई सबै जानकारी गराएँ । उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनु भयो । उहॉसंगै म न्यूयोर्क आएँ । न्यूयोर्क आएपछि झन मलाई ज्वरोपनि आउन थाल्यो । खानाको स्वादपनि थिएन । आफुलाई निकै कमजोर महसुस गरेको थिएँ ।

Image may contain: one or more people and closeup

बहिनी ज्वाइंपनि निकै चिन्तित हुनुहुन्थ्यो । २६ तारिखका दिन ज्वाइंले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेष्ट गराउनु भयो। तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाइंले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो। त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनको लागि सरें । मलाई त्यहाँ बहिनी दावा शेर्पाले विहानदेखि सॉझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।

एवंरीतले मेरो रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो । हल्का खोकी थियो , त्यो तातोपानी पिउँदै गरेर आफसेआफ ठीक भयो । कोभिड टेष्टको १५ औं दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाइंले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो ।

आज विरामी भएको २८ दिन पुरा भएको छ । मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठीक भएको महशुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु । यतिखेर मलाई कोरोना भारसदेखि बॉचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मेरो बहिनी ज्वाई लुइसाङ वाइवाज्यू र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु ।

यस्तैगरी हरेक सॉझ- बिहान मलाई सम्पर्क गरेर सम्झाईबुझाई गर्नु हमने , सकारात्मक आत्मबल दिनु हुन् आदरणीय कुमारी नाना, टेक दाई, रञ्जु भाउज्यू, काशी बहिनी, गंगा भेना, राजन गौली सर, स्मृति बहिनी, विमला बहिनी, नारायण परियार भाई, आस घर्ती मगर भाई, भाञ्जीज्वाई रुबी-कर्मा, कान्छा भाइलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु । हरेक साँझ विहान मलाई खानपिनको व्यवस्था गरिदिनुहुने टेकदाई, रञ्जु भाउज्यू, र काशी बहिनीलाई दुई जोडेर नमन गर्न चाहन्छु ।

यस्तैगरी मलाई प्रोत्साहन, हौसला र आत्मबल बढाउन बारम्बार फोनबाट आवश्यक सल्लाह र सुझाव दिनुहुने तामानङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङज्यू, समाजसेवी भरत मोक्तानज्यू, इन्द्र तामाङज्यू, नेपाली जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ दाइ , एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीज्यू , धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दीवाकर पाण्डेज्यू, एवं उपाध्यक्ष भक्त गुरुङज्यूलगायत मलाई प्रतक्ष र परोक्षरुपमा सुस्वास्थ्यको कामना गर्नु हुने सबैप्रति नमन गर्दछु । साथै कोभिड – १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन पनि बिनम्रतापूर्क अनुरोध गर्दछु । ( पत्रकार मानछिरिङ तामाङको फेसवुक वालबाट हामीले प्रकाशन गरेका हौं-सम्पादक)