आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीबाट हटाउन पोखराबाट ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर आफूलाई पदबाट हटाउन प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन्।

सोमबार उनी पक्षीय नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाएर देखाउन चुनौती दिएका हुन्।

सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओली नेतृत्वको सरकारको भविष्य र नयाँ सरकारका विभिन्न विकल्पबाट छलफल चलिरहँदा ओलीले आफू संसद र संसदीय दल दुवै स्थानमा प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरेका छन्।

हाल कायम रहेको नेकपाको २२० सदस्यीय संसदीय दलमा ओली वा दाहाल–नेपाल पक्ष दुवै बहुमत पुर्‍याउने स्थिति नरहेको अवस्थामा उनले दुवै स्थानमा प्रतिस्पर्धा गर्ने चुनौती दिएका हुन्।

ओलीले आफू विधि प्रक्रियामा विश्वास गर्ने भएकाले त्यसैअनुसार अघि बढ्न पनि दाहाल नेपाल पक्षलाई सुझाव दिए। भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘अविश्वास प्रस्ताव राखेर हटाउन सक्नुहुन्छ। हटाउनुहोस्, विधि प्रक्रियाबाट आउनुहोस्। कुस्ती खेलेर प्रधानमन्त्री जित्न सकिँदैन। कुस्ती खेल्यो भने दिनको दुई तीनपटक प्रधानमन्त्री फेरिन्छ।’

उनले बहुत पुर्‍याएर दलको बैठक बोलाउन आफूलाई भन्न समेत सुझाए। ‘बहुमत पुर्‍याऊ, संसदीय दलको बैठक बोलाइ दिन्छु। हटाएर देखाउनुहोस्,’ ओलीले भने।

उनले अहिले आफू पदबाट हटे पनि डेढ दुई वर्षपछि फेरि दुईतिहाइ बहुमतसहित सत्तामा फर्किने ठोकुवासमेत गरे।

‘प्रधानमन्त्री खोज्दै हिँडेका छन्। विधि प्रक्रिया सम्मत रुपमा आऊ, हामी प्रतिपक्षमा बस्न तयार छौँ। दुई वर्षपछि फेरि हामी दुईतिहाइ बहुमत सहित सरकारमा फर्किन्छौँ,’ ओलीले अगाडि भने, ‘हाम्रो उद्देश्य देश बनाउने भएकाले डर छैन, उनीहरुको जस्तो तिकडम, जालझेल गर्न आवश्यक छैन। अघिल्लोपटक माधव नेपाल, प्रचण्ड, झलनाथले प्रधानमन्त्रीबाट हटाएका हुन्। फेरि सरकारमा आउँछौँ।’

उनले सरकारले प्रभावकारी रुपमा काम गरेकाले त्यसबाट आत्तिएर प्रचण्ड नेपाल पक्ष आफूविरुद्ध लागेको आरोप लगाए।

ओलीले दाहाल नेपाल समूहप्रति आक्रोश पोख्दै भने, ‘देश विदेशका तत्व पार्टी ध्वस्त पार्न लागेका छन्। सरकार ठिक ढंगले चलेको छ, प्रभावकारी भएकाको छ, विकास निमार्णका कामले गति लिएको छ। त्यही भएर म माथि प्रहार केन्द्रित भएको हो।’

मेरो ज्यान नै तलमाथि हुन सक्छ

ओलीले भाषणका क्रममा आफूमाथि भौतिक आक्रमणको खतरा रहेको समते उल्लेख गरे। ‘मेरो ज्यान तलमाथि नै हुने संभावना पनि छ। भौतिक आक्रमण हुन सक्छ। म रहिन भने पनि केही छैन, आन्दोलन छ, पार्टी छ अघि बढ्छ, ओलीले भने।

उनले देशी विदेशीबाट पार्टीमाथि आक्रण हुँदा पनि कार्यकर्तामा कुनै अमलमल र अन्योलना नभएको भन्दै नुशी व्यक्त गरे। ‘हामीले अपराधिक तत्वसँग लडिरहेका छौँ। रिस उठेकालाई कसरी अपमान गर्न सकिन्छ, झुठा आरोप कसरी लगाउन सकिन्छ भनेर लागेका छन्। झुठा लाञ्छनाको पुलिन्दा १९ पेज तयार पारेर विश्वभर प्रचार गरिएको छ। अहिले आन्दोलन शुद्धिकरण खोजेको छ। हामी त्यसकै चरणमा छौ, ओलील भने।

केन्द्रीय सदस्यलाई पनि हटाइ दिन सक्छु

ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका केन्द्रीय सदस्यलाई पनि आफूले कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिए। पार्टी एकताका लागि आफू अल्पमतमा परेको जान्दा जान्दै नियुक्त गरेका केन्द्रीय सदस्यले धेरै निहुँ खोजे हटाउने बताएका हुन्।

उनले जसले नियुक्त गरेको हो त्यसले पदमुक्त पनि गर्न सक्ने भएकाले प्रमुख सचेतक जस्तै केन्द्रीय सदस्यलाई पनि हटाउन सक्ने बताए।

ओलीले भने, ‘जुन हातले नियुक्ति दिएको हो, त्यसले नाम काट्न पनि सक्छ। मैंले बनाएको प्रमुख सचेतक देव गुरुङलाई हटाएर अर्को नियुक्त गरेँ। आवश्यक परेका बेला हटाइ दिन सक्छु। उहाँहरुले भनेको बहुमत केन्द्रीय कमिटि मैंले बनाएको हो।’

बहुमत केन्द्रीय सदस्य आफूले देशको हितलाई ध्यान दिएर उनीहरुलाई दिए पनि अहिले देशका लागि घाट भएको उल्लेख गरे।

‘त्यो बहुमत त मैंले नै दिएको हो। मेरो नोट कपीमा लेखेर दिएको हो। चुनाव जितेर आएका होइनन्, प्रधानमन्त्री ओलीले अगाडि भने, ‘देश बनाउने उद्देश्यले गर्दा मैंले बहुमत हेरिन, आन्दोलनलाई बलियो बनाउन लागेँ। एकीरण सुरु हुने वित्तिकै धन्दा सुरु भयो। आन्दोलनलाई कमजोर बनाएर कर्म्फटटेल सरकार बनाउन पो लागेको रहेछ।’

उनले विधि प्रक्रियाबाट अध्यक्ष र दलको नेता हुन सुझवा दिँदै भने, ‘बहुमत छ भन्नेहरु अहिले लाजले भागेका छन्। माइतिघरमा अध्यक्ष भएँ भनेर हुन्छ? त्यो बहुमत कहाँ पुष्टि भयो? कार्की व्याङ्कुटमा भोज खुवान बनाएर केन्द्रिय सदस्य मेरो धेरै भयो भनेर हुन्छ?’

ओलीले देश चल्दै नचल्ने भएपछि, प्रतिनिधिसभा विघटनको सिफारिस गरेको दाबी गरे। ‘देश चल्नै नसक्ने भएपछि विघटन सिफारिस गरेको हुँ। देशले चुनावको बाटो लिइसकेको थियो। तर अदालतले उल्ट्यो। जनताको जनादेशबाट देश चल्नुपर्छ, ओलीले कार्यकर्तालाई भने।