विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडे: मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।

सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको उनको भनाइ थियो । उनले बागमती प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको दावीसमेत गरे ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक शिक्षालय र १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र निर्माणलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले विकास हेर्न आउन आग्रह पनि गरे ।

‘सरकारले गरेको विकासमा काम काम हेर्न अन्त नजानु, अलि उता हेर्नुस्, प्राविधिक शिक्षालय बन्दैछ, अलि यता आउनुस्, १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र बन्दैछ, अलि उता जानुस्, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दैछ,’ उनले भने ।