पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
नेपालले भने, ‘असंवैधानिक रुपमा गरिएको संसद विघटन सर्वोच्चबाट बदर भएसँगै पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको छ । तर त्यसका लागि केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्छ।’
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको खण्डमा सोही अनुसार पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्न सक्ने र सोही अनुरुप आफूहरुको रणनीति तयार हुने उनले बताएका छन्।
उनले भने, ‘संसद अधिवेशन अघि नै उहाँले राजीनामा दिएमा पार्टी एकताको सम्भावना बलियो बन्ने छ । तर राजीनामा नदिएमा हामी अविश्वासको प्रस्ताव ल्याउने छौँ।’
आफै राजीनामा नदिएमा अविश्वासको प्रस्तावबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि मात्रै पार्टी एकताको विकल्प कस्तो हुने भन्ने तय गर्न सकिने नेता नेपालले बताएका छन्।
दाहाल–नेपाल समूह ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने रणनीतिमा छ । तर दाहालले आफू प्रधानमन्त्री नबन्ने सार्वजनिक घोषणा गरिसकेका छन्।
मंगलबार सर्वोच्चले फैसला गर्दा चितवनमा रहेका दाहाल र नेपाल बुधबार काठमाडौँ आउँदै छन् । उनीहरुले दिउँसो रत्नपार्क स्थित शान्ति बाटिकामा हुने विजय जुलुसलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपालले राजीनामा दिएर ओलीले पार्टी एकताको मार्ग प्रशस्त गर्न सक्ने बताए पनि ओली भने आफू निकटका नेताहरुसँग भावी रणनीतिबारे छलफलमा छन् । उनले स्थायी समितिको बैठक पनि बोलाएका छन्।