प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् ।
शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन।
जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको उनको भनाइ छ। निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने पनि उनले बताए।
उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु। मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन। केही भएको छैन। के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन। जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन।’
उनले जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्नेगरी तयारी गर्न समत निर्देशन दिए। उनले भने, ‘यहाँ कतिपय तत्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होईन भन्ने आरोप लगाउन खोजेका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु।’
प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताए। ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उनले प्रश्न गरे। उनले भने, ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्ष पछि त लोकतन्त्र कुनै हालतमा बाच्ने भएन नि त नेपालमा।’
प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गरे। लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने जनताको बिचमा जानुपर्ने उनको भनाइ छ।