बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ- घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।
बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले यसो भनिरहेका बेला पत्रकारले प्रश्न गरे- निर्मला पन्त हत्या प्रकरणमा पनि दिलिपसिंह विष्टले घटनामा आफ्नो संलग्नता स्विकारेको दाबी प्रहरीको थियो। ठोस प्रमाण चाहिँ के छ ? अनुसन्धान पंरा नगरी पत्रकार सम्मेलन गर्न यहाँहरुलाई हतार भएको हो कि?
कन्चनपुरको भीमदत्त नगरपालिकामा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक गरिएका विष्टको डीएनएसँग मृतक किशोरीको भेजिनल स्वाबमा भेटिएको डीएनए ‘म्याच’ नभएपछि उनलाई अदालतमा मुद्धा दर्ता गर्नु अघि नै छाडिएको थियो।
त्यसपछि डीआईजी सुवेदीले प्रहरीको अनुसन्धानमा शंका नगर्न र कुनै त्रुटि नराखी, घटनास्थलको मसिनो अनुसन्धानपछि आरोपित किशोरलाई नियन्त्रणमा लिएको बताएका थिए । गत माघ २२ गते स्कुलबाट फर्कनेक्रममा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर जाने सडक छेउको जङ्गलमा शव भेटिएको थियो। प्रहरीले मंगलबार मृतक किशोर अध्ययन गर्ने स्कूलमा कक्षा ११ मा पढ्ने किशोरलाई पक्राउ गरेको छ। त्यस स्कूलमा भागरथी कक्षा १२ मा पढ्थिन्। दुवै जना एकै गाउँका हुन्।
डीआइजी सुवेदीलाई फेरि पत्रकारले प्रश्न गरे- सञ्चार माध्यममा आरोपितले आफूले हत्या मात्र गरेको स्वीकारेको तर बलात्कार भने नगरेको बयान दिएको भनेर आएको छ, साँचो के हो ?

सुवेदीले आरोपितले दावी गर्न सक्ने तर त्यसलाई प्रमाणले झुटो ठहर गर्न सक्ने जवाफ दिए। प्रहरीले मृतक किशोरीको भेजिनल स्वाब फरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइसकेको छ। यसबाट भेजिनल स्वाबमा पुरुषको ‘बिर्य’ भए नभएको र भए त्यसको डीएनए पत्ता लाग्ने छ। प्रहरीले पक्राउ परेका किशोरको डीएनए पनि परीक्षणका लागि पठाएको छ। डीएनए मिले प्रहरीलाई दाबी पुष्टि गर्न सजिलो हुन्छ। तर नमिले?
पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको भनिसकेको छ। प्रहरीको दावीअनुसार आरोपित युवकले हत्या गरेको तर बलात्कार नगरेको बताएका छन्। यी किशोरले अदालतमा आफू निर्दोष रहेको बयान पनि दिन सक्छन्। त्यस्तो अवस्थामा प्रहरीलाई अप्ठोरो पर्न सक्छ।
डीआईजी सुवेदी बलात्कार गरेको पुष्टि हुन डीएनए नै मिलेको हुनु नपर्ने दाबी गर्छन्। ‘कानुनमा बलात्कार भएको पुष्टि हुन आरोपितसँग डीएनए मिलेकै हुनुपर्छ भन्ने लेखिएको छैन। योनीमा छोए मात्र, अन्य वस्तु घुसारे पनि बलात्कार हुन्छ भन्ने कानुनी व्याख्या छ’, डीआईजी सुवेदीले भने। तर यसरी पुष्टी गर्न प्रहरीलाई सजिलो हुने छैन। प्रहरीका अन्य प्राविधिक प्रमाणहरु बलियो हुनुपर्ने छ। डीआईजी सुवेदी यसमा सचेत छन्।