निर्वाचन आचारसंहिता सम्बन्धी आयोगको छलफल, आन्दोलनरत दल सहभागी, निर्वाचन आचारसंहिता सार्वजनिक गरिने

निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे अहिले दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन्। यस्तै निर्वाचन आयोगका आयुक्तहरु, सचिवहरुसँगै कानुनविदहरु पनि छलफलमा सहभागी छन्।

माधव नेपाल नेतृत्वको नेकपाले छलफलको सुरुवातमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेको छ। यो समूहको तर्फबाट नेता लीलामणि पोखरेल लगायत छलफलमा सामेल छन् । सत्तारुढ नेकपाका तर्फबाट कानुनविद बाबुराम दाहाल लगायत सामेल छन् ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको माधव-प्रचण्ड समूह संसद पुनर्स्थापनाका लागि संघर्षमा छ।