अमेरिकी पूर्व विदेश मन्त्री शुल्ट्जको निधन

शितयुद्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकाका पूर्व विदेश मन्त्री जर्ज शुल्ट्जको निधन भएको छ ।

२० औँ शताब्दीको अन्त्यतिर परराष्ट्र नीतिलाई महत्वपूर्ण आकार दिन केन्द्रीय भूमिका खेलेका शुल्ट्जको १०० वर्षको उमेरमा निधन भएको हो ।

क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा उनको शनिबार निधन भएको हूभर इन्स्टिच्यूड अफ थिंक ट्याङ्कले बताएको छ ।

शुल्ट्जले विभिन्न जिम्मेवारीमा रहेर तीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावर, रिचार्ड निक्सन र रोनाल्ड रेगनको शासनकालमा सेवा गरे ।

रेगन प्रशासनमा शुल्ट्जले १९८० को अधिकांश समय तत्कालीन सोभियत युनियनसँगको सम्बन्ध सुधारमा खर्चिएका थिए ।

शुल्ट्जले डिस्टिङ्गुइस्ड फेलोका रुपमा काम गरेको हूभर इन्स्टिच्यूडले शितयुद्ध अन्त्यका लागि उनले प्रयोग गरेको कूटनीतिक कौशल महत्वपूर्ण रहेको बताएको छ ।

हूभर इन्स्टिच्यूडकी निर्देशक तथा अमेरिकाकी पूर्व विदेश मन्त्री बोन्डोलीजा राइसले भनेकी छन्, ‘हाम्रा सहकर्मी गौरवशाली अमेरिकी विदेश मन्त्री थिए र साँचो राष्ट्रभक्त हुन् ।’

विश्वलाई मानव जातिका लागि थप राम्रो स्थान बनाउने व्यक्तिका रुपमा शुल्ट्जको स्मरण हुने उनले बताएकी छन् ।

शुल्ट्जले आइजनहावरको शासनकालमा आर्थिक सल्लाहकार तथा निक्शन कालमा श्रम र वित्त मन्त्री बने । उनले रोनाल्ड रेगनको कालमा विदेश मन्त्रीका रुपमा शितयुद्ध अन्त्यका लागि अति महत्वपूर्ण भूमिका निर्वाह गरे ।

शुल्ट्जको प्रयासमा सन् १९८७ मा अमेरिकी राष्ट्रपति रेगन र तत्कालीन सोभियत युनियनका नेता मिखायल गोर्बाचोभले ऐतिहासिक हतियार नियन्त्रण सम्बन्धी इन्टरमिडियट–रेन्ज न्यूक्लियर फोर्स ट्रिटीमा हस्ताक्षर गरे ।

गएको डिसेम्बरमा शुल्ट्जले आफ्नो १०० औँ जन्मदिन मनाएका थिए ।