प्रचण्डको स्विकारोक्ती: युद्ध नछाडेको भए हाम्रो नियती श्रीलंकाको तमिल जस्तै हुन्थ्योः प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।

बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको जस्तो हुनसक्ने देखेर शान्तिपूर्ण राजनीतिमा आउने निष्कर्षमा पुगेको बताएका हुन्।

उनले भने, ‘नेपालको राजनीतिमा निरंकुशतावादीले सम्पूर्ण सत्ता लिन खोजेको बेलामा जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्ने र राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यही हो भन्ने ठानेँ मैले। यसबेला गरिएन भने त्यसपछि फेरि समय आउँदैन, हाम्रो नियती पेरुकै हुन्छ। हाम्रो नियती श्रीलंकाकै हुन्छ भन्ने देखेँ मैले।’

राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै नहुने भन्दै उनले विश्व परिस्थिति हेर्नुपर्ने उनले बताए।  उनले भने, ‘राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै हुँदैन। यसको अन्तर्राष्टिय आयाम पनि हुन्छ। विश्व परिस्थिति कस्तो छ भन्नेमा पनि भर पर्छ।’

विश्वमा भएका ठूलाठूला सशस्त्र विद्रोहको नाम निशान आफ्नै आँखा अगाडि मेटिएको आफूले देखेको  उनले बताए।

उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा भारतमा, श्रीलंकामा ठूल्ठूला युद्ध थिए। श्रीलंकाको तमिलहरुको सशस्त्र विद्रोह संसारभर ख्याति प्राप्त विद्रोहको रुपमा थियो। ल्याटिन अमेरिकामा पेरुमा, कोलम्बियामा ठूल्ठूला युद्ध थिए। हामीले लड्दै गर्दा हाम्रै आँखा अगाडि तमिलहरुको त्यत्रो विद्रोह नराम्रोसँग दवियो। त्यसको प्रमुख नेतादेखि हजारौँ हजार मानिसहरु मारेर ध्वस्त पारियो।’

सबै परिस्थिति हेरेर ‘जनयुद्ध’लाई  विजयतर्फ लैजान यस्तो निर्णय गरेको उनको भनाइ छ।

‘मैले तपाईंहरुलाई विजयतिर लैजान, तपाईंहरुको बलिदान खेर नजाने बाटो के हुनसक्छ भन्नेतर्फ मैले अलिकति बढी सोचेँ। लड्दा हामी पनि एक लाखसम्म मर्दै जान र मार्दै जान सकिन्थ्यो। त्यसरी युद्ध जितिन्छ त?’