सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालतको अवहेलना मुद्दामा सातदिन भित्र उपस्थित भएर जवाफ दिन आदेश दिएको छ।
प्रचण्डले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजेको र अदालतलाई धम्क्याएको भन्दै परेको अवहेलना मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।
समिर हायूले दायर गरेको मुद्दामा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ७ दिनभित्र अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? माग बमोजिम कारबाही किन नहुनु पर्ने हो? म्याद प्राप्त भएका मितिले बाटाका म्याद ७ (सात) दिनभित्रै सबै ब्यहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाउँमा आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि पेश गर्नू।’
यसअघि अदालतको अवहेलना मुद्दा चारजना पूर्व प्रधानन्याधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि सात दिनभित्र जवाफ दिन सर्वोच्चले आदेश दिएको थियो।











