प्रचण्ड-माधव मोहन बैद्यको पार्टीमा जानुपर्यो, कि ओलीलाई मानेर आउनुपर्यो : रायमाझी

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपालसामू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने कि चुनाव बहिष्कार गरेर मोहन बैद्यको पार्टीमा सामेल हुने भन्ने दुई बिकल्प मात्रै रहेको ठोकुवा गर्नुभएको छ ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले यस्तो ठोकुवा गर्नुभएको हो । ‘प्रचण्ड र माधवले केपी ओलीलाई सकाउन दुईतिरबाट तरवार हान्नुभयो, केपीले लात्तीले फिस्स हानेर दुवैलाई सडकमा पुर्याइ दिनुभयो, अव उहाँहरुसामू दुईटा मात्रै बिकल्प छ,’ रायमाझीले भन्नुभयो, ‘अव प्रचण्ड–माधव कि चुनाव बहिष्कार गर्दै मोहन बैद्यको पार्टीमा जानुपर्यो, कि केपी अ‍ोलीलाई मानेर पार्टीमा आउनुपर्यो, यस्को बिकल्प छैन ।’

उहाँले प्रचण्ड र माधवले लामो समयदेखि सरकार ढाल्न र पार्टीको नेतृत्व कू गर्न लागेकै कारण पार्टी यो अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो । प्रचण्डले प्रधानमन्त्री ओली बाँच्दैनन भनेर पाँच बर्ष सरकार चलाउन भनेको र मृगौला प्रत्यारोपन सफल र्भप्छि छटपटाहट भएको तथ्य पनि राख्नुभयो । उहाँले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताले सिर्जना गरिरहेको भ्रममा कत्ति पनि नपरी चुनावमा लाग्न निर्देशन दिनुभएको हो ।

पार्टीका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर जानुभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुपर्यो कि पार्टी फुटाएर जानुपर्यो ।’ उहाँले प्रचण्ड पार्टी बिभाजन र सरकार ढाल्नकै लागि लागिपरेको कारण प्रचण्ड र माधवको जोडी पनि केही समय मात्रै रहने ठोकुवा पनि गर्नुभयो ।