शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई नमुना शहर बनाउने आफ्नो सपना साकार हुँदै गएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा नेकपाद्वारा आज आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश २ का अध्यक्षसमेत रहनुभएका मन्त्री साहले चितवनको विकासका लागि आफू लामो समयदेखि क्रियाशील रहेको बताउनु भयो । चितवनमा शहरी पूर्वाधारको द्रुत निर्माण गरी शैक्षिक, व्यापारिक एवं पर्यटकीय केन्द्र बनाउने आफ्नो सपना रहेको र सोही बमोजिम कार्यहरु अगाडि बढाइएको मन्त्री साहको भनाई छ ।

शनिवार नै शहरी विकास मन्त्रालयले १ अर्ब २१ करोडमा बनाउन लागेको भरतपुर सिटी हलको शिलान्यास समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास भएको सिटी हल मन्त्री साहले नै पहिलो कार्यकालको बेला अगाडि बढाउनु भएको थियो । चितवनको विकाससंग जोडिएको भरतपुर सिटी हल लामो प्रयास र तयारीपछि अगाडि बढेकोमा मन्त्री साहले खुशी व्यक्त गर्नुभयो । मन्त्री साहले चितवनलाई नेपालकै एक नमुना शहर निर्माणको लागि आफुलाई साथ दिन चितवनवासीलाई आह्वान गरे ।
‘मलाई स्मरण छ, म पहिलो पटक शहरी विकास मन्त्री हुँदा चितवनलाई तीव्र विकासको दिशा कार्य अगाडि बढाएको थिएँ । भरतपुरसहित समग्र चितवनलाई नै एउटा नमुना शहर बनाउने मेरो त्यो सपना साकार हुँदै गएको देखिरहेको छु,’ मन्त्री साहले भन्नुभयो, ‘आज दोस्रो पटक पुनः शहरी विकास मन्त्रीको रुपमा तपाईंहरुको अगाडि छु । यस विचमा चितवनमा अर्बौंको विकास निर्माणको काम भएको छ । उहिले शुरु गरेका योजनाहरुले अहिले कार्यान्वयन हुँदैछ । चितवन एउटा तीव्र विकासको दिशामा अगाडि बढ्दैछ ।’
उहाँले प्रधानमन्त्री ओलीले पनि चितवनलाई उच्च प्राथमिकता दिनुभएको बताउनु भयो । ‘आज तपाइँहरुले देख्नुभयो, सम्मानीय प्रधानमन्त्रीज्यूले भरतपुर सिटी हलको शिलान्यास गर्नुभयो । सडक विस्तारको शिलान्यास गर्नुभयो । यो सब चितवनको विकासको लागि छ,’ मन्त्री साहले थप्नुभयो, ‘म भन्न चाहन्छु, चितवनको हुँ भन्नेहरूलाई एकपटक सोध्नुस, यहाँ जे जति काम भएको छ, त्यो कसले गरेको हो ? त्यो सबै काम प्रभु साहले गरेको हो । र आग्रह गर्न चाहन्छु तपाईं हामी मिलेर मात्र चितवनको विकास गर्न सक्छौं । यसमा मलाई साथ दिनुहोस ।’