अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन ।
बुधबार राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड तथा हिंसात्मक गतिविधि गरेका थिए । सो घटनामा हालसम्म पाँचजनाको ज्यान गएको पुष्टि भएको छ ।
आफ्ना समर्थकलाई हिंसात्मक गवितिविधि गरि चुनावको नतिजा उल्ट्याउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी डेमोक्र्याटहरुले गरेका हुन् ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । ५० भन्दा बढि मुद्दा दायर गरे पनि सबै अदालतले प्रमाणको अभावमा उनको विपक्षमा फैसला गरे ।
सरकारी निकायले चुनाव धाँधली रहित र निष्पक्ष रहेको बताए पनि ट्रम्पले धाँधलीको आरोप लगाउँदै हिंसात्मक प्रदर्शनका लागि समर्थकलाई उक्साएको आरोप छ ।
बुधबार संसद भवनमा भएको आक्रमणलाई आंतरिक आतंकवाद तथा बिद्रोहका रुपमा चित्रित गरिएको छ ।