काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका नागढुंगाबाट सोमबार स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेको काठमाडौ प्रहरीले संवाददाता सम्मेलन मार्फत बताएको छ ।
उनीहरु कपिलबस्तुबाट प्रदे ३-०१-०२३ च २२५९ नम्बरको हुन्डाई कारमा आइरहेका बेला प्रहरीले विषेश सुराकीका आधारमा बिहान साढे ४ बजे नियन्त्रणमा लिएको थियो ।
कारको डिकीमा छक्का राख्ने ठाउँभन्दा मुनितिर तीनवटा उही ‘साइज’को कालो झोलामा राखिएको अवस्थामा उक्त परिमाणको पैसा बरामद भएको थियो।
१० लाख रुपैयाँभन्दा बढी रुपैयाँ बोकेर हिँड्दा त्यसको आधिकारिक स्रोत पनि खुलाउनुपर्छ। एसएसपी सिंहले उक्त पैसा हुन्डी कारोबारी वा सुन तस्करको हुन सक्ने अनुमान गरे। ‘सुन लिनको लागि उक्त पैसा काठमाडौँ लिएर आएको हुन सक्छ। त्यसभन्दा अर्को बलियो कारण हुन्डि हुन सक्छ। अनुसन्धानले बाँकी कुरा खुलाउला’, उनले भने। पक्राउ पर्नेमा भारतको गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय संगम थारु रहेका छन्। थारुले उक्त कार हाँकेका थिए।
प्रहरीले उक्त रकम भारतबाट नेपाली सीमामा भारतीय रुपैयाँ सटहीँ गरी जम्मा गरेर काठमाडौँ ल्याइएको दावी गरेको छ। काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंह पैसाको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको बताए।