‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति सधैं सफल हुँदैन, यसपटक प्रचण्ड फस्नुभयो : पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।

‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,’ उनले भने, ‘यसपटक कमरेड प्रचण्ड फस्नुभयो।’

चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए। 

सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे।

उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। 

‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’ उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे। 

जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए।