दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै

नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज उनीहरुको आरडीटी टेष्ट गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनका अनुसार, त्यहाँ २६ जिल्लाका मानिस रहेका छन् ।

आरडीटी रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सबैलाई पत्रसहित सम्बन्धित जिल्लामा पु¥याउने बताए ।

यी मानिसहरु बडो संघर्ष गरेर दशगजामा बस्न पाएका थिए । कामको सिलसिलामा भारत पुगेका उनीहरु चैत्र १७ गते रुपैडिहा नाका आइपुगेका थिए । एक रात उनीहरु भारतमा बसे । भोलिपल्ट भारतीय सुरक्षा बल (एसएसबी)ले दशगजामा ल्याएर छोडिदियो । त्यसपछि नेपालतर्फ सुख्खा बन्दरगाहको एरियामा खुल्ला आकाशमुनी रात बिताए ।

खेतमा बसेका उनीहरुलाई स्थानीय प्रशासनले सीमावर्ती भारतीय समकक्षीसँग बैठक बसेर आधा आधालाई व्यवस्थापन गर्ने सहमति गरे । त्यो सहमति अनुसार, जमुनाहामा पुगेका उनीहरुले सबै एकै ठाउँमा बस्ने अडान कसे ।