नेपाली सेनाले चीन र भारतबाट १२० प्रकारका स्वास्थ्य सामग्री ल्याउने

नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग त्यस्ता सामग्रीका लागि स्वीकृति मागेको थियो।

सरकारी उच्चस्रोतका अनुसार मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएसँगै चीन र भारतबाट त्यस्ता सामग्री ल्याउने नेपाली सेनाका लागि बाटो खुलेको छ।

नेपाली सेनाले चीन र भारतबाट कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक मास्क, पञ्जा, चस्मा, गाउनलगायत १२० प्रकारका सामग्री ल्याउने कसरत तिब्र पारेको हो।

चीन र भारत सरकारका उच्चअधिकारीहरुबाट त्यस्ता सामग्री दिने आश्वासन अनौपचारिकरुपमा पाएपछि नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिएको हो।

सेनाले यी दुई छिमेकी मुलुकसँगै दक्षिण कोरिया, इजरायल र सिंगापुरबाट पनि मेडिकल सामग्री ल्याउने प्रयास जारी राखेको छ।

स्वास्थ्य सेवा विभागले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक मेडिकल सामग्री खरीद प्रक्रिया अघि बढाइरहेका बेला गत चैत्र १६ गते मन्त्रीपरिपरिषदले त्यस्ता सामग्री खरीदको जिम्मा नेपाली सेनालाई पनि दिने निर्णय गरेको थियो।

मन्त्रीपरिषद बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी रक्षामन्त्रालयमार्फत सरकार-सरकार ‘जिटुजी’मार्फत त्यस्ता सामग्री खरीद गर्ने निर्णय ‘माइन्युट’ गरिएको थियो।

यता स्वास्थ्य सेवा विभागले मन्त्री पोखरेलकै संयोजकत्वको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकको चैत्र ११ गतेको निर्णयलाई आधार मान्दै चैत्र १४ गते ओम्नी इन्टरनेशनललाई १ अर्ब २४ करोड रुपैयाँ बराबरको सामग्री खरीदका लागि सम्झौता गरेको थियो।