कम्युनिष्ट पार्टीका नेताहरु! तपाईंहरु गलत गर्दै हुनुहुन्छ । फर्कनुहोस् पूर्ववत् स्थानमा यदुवंशी लडाईको मोर्चाबाट र एकपटक लाखौं निर्दोष कार्यकर्ता र तपाईंहरुको हर्कतबाट दुखी नेपाली जनतासंग माफी माग्नुहोस् । अन्यथा 10 हजार जनाको केन्द्रीय कमिटी बनाए पनि र एक दर्जनभन्दा बढिलाई अध्यक्ष बनाए पनि पदलोलुपहरूको झुन्डले तपाईंहरुलाई सिध्याउने छ ।
तरबारको धारमा इतिहासमा एकपटक प्राप्त गरेको उपलब्धिलाई तपाईंहरुले खेलाची ठान्नु भयो । त्यसको सम्वेदनशिलतालाई तपाईंहरुले बुझेर पनि बुझ पचाउनु भयो । केही थान नेताहरुको पदीय हठ र महत्वाकांक्षाका अगाडि नेपाली जनताको भाग्य र भविष्यलाई रौं बराबर पनि ठान्नुभएन । मौन बसेका हजारौं कार्यकताहरु र विगतमा तपाईंहरुलाई भोट हालेका मतदाताहरुले तपाईंहरुका जुन सुकै हर्कतलाई लुरुलुरु मानिरहन्छन् भन्ने नठान्नुहोस् ।
अझै पनि मौका छ नेता महोदयहरु! प्रायश्चित गर्दै आ आफ्नो मोर्चाबाट पूर्व अवस्थामा फर्कनु होस् । आम कार्यकर्ता अहिले पनि एकिकृत नेकपाको प्रतिक्षामा छन्। आफ्नै घर पोलेर खरानी बनाउने अगुल्टो बोक्न तपाईंहरुलाई अघि लगाएर स्वार्थ लुट्ने तत्वहरु वाहेक कोही तयार छैनन् । चेतना भया !
-शिव अधिकारी