नेकपा विभाजनलाई औपचारिकता दिन बालुवाटार र बबरमहलमा बैठक बस्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनमा जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेपछि नेकपा विभाजनमा जाने छ ।
अहिले ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा अपेक्षा गरेभन्दा बढी केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थाहा लागेको छ । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।
प्रचण्ड पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट बबरमहलमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड समूह बहुमतमा देखिन्छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ ।
चुनावी गठबन्धन गर्दै २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर नेकपा गठन भएको थियो ।