महिला हिंसा विरूद्वको अभियानः १६ दिनसम्म संझने र १७ दिनपछि बिर्सने !

उमादेवी कोइराला:
‘लैङ्गकि हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराको साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरूद्धको हामीले मनाएको १६ दिने अभियान सकियो । १७ दिनपछि हामीले क्रमशः त्यसलाई फेरी विगत वर्षहरुमाझैं क्रमशः भुल्न थालिरहेका पनि छौं ।
विगत वर्षहरुमाझैं यस वर्षपनि १६ दिने अभियान नारामैं सीमित भएको देखिन्छ । हामी सानो देशका नागरिक हौं । तर युरोप, अमेरिका अष्ट्रेलियाको तुलनामा हाम्रो देशमा महिला हिंसाका घटनाहरुमा कमी आएकै छन् । कानूनी हिसावले भन्ने हो भनेपनि हामी महिला अधिकारका पक्षमा विश्वमैं उत्कृष्ठ छ ।
मलाई लाग्छ, अभियान चलाउनु र दिवस मनाउनु मात्र ठूलो कुरा होइन । त्यस्ता अभियान र दिवसले दिने सन्देश अनि दैनिक जीवनमा गरिने ब्यबहार चाहिँ मुख्य कुरा हो । यस अभियानमा लैंगिक हिंसाबारे शहरकेन्द्रित केही बहस अवश्य आरम्भ भएको छ । तर, जहाँ बहस हुनु पर्ने हो र ब्यवहारमै परिबर्तन ल्याउनु पर्ने हो, त्यहाँ खास केही हुन सकेको छैन ।
लैंगिक हिंसाको मापन गर्ने हो भने शहरमा भन्दा ग्रामीण इलाकामा साथै शिक्षित, सम्पन्न परिवारमाभन्दा अशिक्षित, बिपन्न परिवार र खासगरी दलित समुदायमा बढी हुने गरेको छ ।
अधिकांश महिला अधिकारकर्मी अभियन्ताहरू शहरका होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका देख्न सकिन्छ । मेरो अनुरोध छ, जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीं गएर खोजौं । अन्यथा, परिणाम ज्वरोको विरामीलाई सिटामोल ख्वाउनुपर्नेमा बेटाडिन दले बराबर नहोला भन्न सकिन्न ।
विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानि ब्यहोरामासमेत ठूलो परिवर्तन ल्याइरहेको छ । र, हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ । अहिले पनि लैंगिक विभेदको मुल जरो पत्ता लगाएर त्यसको समुल अन्त्यका लागि लड्नुपर्ने बेलामा मनाइने यस्ता अभियान आफैंमा ‘कस्मेटिक्स’ अभियानमा रुपान्तरण भइरहेकाछन् । अनि राज्य र शासकहरू यही समाजको पक्षमा वकालत गरिरहेका छन् ।
सामाजिक न्याय र समानताको मुद्धा बोकेर कम्युनिष्ट पार्टीमा पुरुषहरुसँगै निरंकुशता विरुद्ध लडेका महिलाहरु महिला भएकै कारण अबसरबाट बञ्चित गरिन्छन् । निर्वाचनमा उम्मेदवारी दिने विषयमा समेत महिलाहरु राजनीतिक हिंसामा परेका उदाहरण हामीहरुसँगैछन् । जित्ने ठाउँमा पुरुष उठ्ने र नजित्ने ठाउँमा महिलालाई उठाएर राजनीतिक रुपमा महिला हिंसा भइरहेको कुरा दुःखका साथ भन्नैंपर्छ ।
बर्गिय मुक्ति बिना महिला मुक्ति सम्भब छैन भनेर हामीहरु सामान्त वर्गको समुल अन्त्यका लागि निरन्तर लड्यौं । सामन्तवादको अबशेषको रुपमा रहेको निरंकुश राजतन्त्रको समूल अन्त्य पनि ग¥यौं । मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले स्थानीय स्तरमा आन्दोलनका उपलव्धीहरुको जग बसालिरहेको छ । तर महिलामाथिको हिंसा रोकिएन, बरु नवसामन्तहरु जन्मनेक्रम बढेर गयो । पार्टीको सेन्टर कमिटी मात्रै होइन, जिल्ला कमिटीहरुमा ३३ प्रतिशत महिला सहभागिता निकै चुनौतीपूर्ण बन्दै गएकाछन् । साविक एमालेमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउन गराउन हामी निकै लामो समयसम्म लड्यौं र सफल पनि भयौं तर जब दुई कम्युनिष्ट पार्टीका बीचमा एकता भयो त्यसपछि भने महिला सहभागिता पुरुष नेतृत्वका लागि अनिवार्य बन्नै सकेन ।
दुःखका साथ भन्नैपर्छः जबसम्म राजनीतिक रुपमानैं सरकार र पार्टीभित्रैबाट महिला हिंसा अन्त्य गर्ने प्रयत्न थालिंदैन, तबसम्म महिलाहरुमाथि ऐन कानून बुझेकाहरुबाटै निरन्तर हिंसा भइरहने छ । कानून नबुझेकहरुबाट हुने हिंसा भन्दा बुझेकाहरुबाटै हुने हिंसाहरु डरलाग्दा र विभत्सकारी छन् ।
एक अध्ययन अनुसार संसारभरिका प्रत्येक ३ मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेको देखिन्छ । त्यस्तै संसारभरिका ३५ प्रतिशत महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने गरिन्छ ।
सबैभन्दा पहिला त पार्टी नेतृत्व र नीति निर्माण तहका बसेका व्यक्तिहरुले ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन, एक अर्काले एक अर्काको अस्तित्व समान रूपमा स्वीकार्ने संस्कार र संस्कृति बसाल्नुस् । अनिमात्रै मुलुकबाट महिला हिंसाको अन्त्य होइन न्यूनिकरणको मार्ग खोलिनेछ ।
नेपालमा सरकारी तरबाट महिला सशक्तिकरणका दिघकालिन योजना वा कार्यक्रम सञ्चालन गर्नुको साटो दातृृ निकाय र गैरसरकारी संस्थाले सञ्चालन गर्ने अभियानबाट पितृसत्तावादी र महिलावादी सोचमा के परिवर्तन आयो ? यौनजन्य र शारीरिक हिंसाको शिकारमा कति कमि आयो ? अभियानले के सन्देश दियो ? उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यवहारमा के परिवर्तन गर्नुभयो ? अभियानमा सहभागी हामी महिलाहरूले के के परिवर्तन ग¥यौं ? यस्ता विषयमा पनि अब गहन छलफल र विचार बिमर्श थाल्न जरुरीछ । (लेखकः नेकपाका केन्द्रीय सदस्य एवम् लोकप्रिय महिला नेतृ हुन्)