आफ्नो समूह कायमै रहेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको सन्देश

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिहीबार आफू निकट नेता कार्यकर्ताको भेला गरेका छन् र उनीहरुलाई गाउँ जान आग्रह गरेका छन् । आफ्नै निवासमा आयोजित भेलामा सिटौलाले आफू निकट नेताहरुको मुड बुझ्ने र अरुलाई आफ्नो समूह कायमै छ भन्ने सन्देश दिन खोजेको एक नेताले बताए ।

उनले आफ्नै निवासमा गरेको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बोलाएको सर्वदलीय बैठकमा भएका छलफलहरुबारे ब्रिफिङ गर्दै राष्ट्रिय राजनीतिबारे आफ्नो विश्लेषणसमेत सुनाएका थिए । पार्टी १४ औं महाधिवेशनतर्फ उन्मुख भइरहेका बेला सिटौलाले आफू निकटका केन्द्रीय सदस्यसहित करिव १०० अगुवा कार्यकर्ताको भेला गरेका हुन् ।

कांग्रेसमा महाधिवेशन लागेको भन्दै उनले सक्रिय सदस्यता वितरणमा सक्रिय सहभागिता जनाउन र जसको जहाँ समूह मिल्छ, मिलाएर आउन आग्रह गरेका छन् । ‘उहाँले अधिवेशन सबैको साझा हो, तपाईंहरु पनि गाउँ जानुस् भन्नुभयो’ भेलामा सहभागी वैकल्पिक केन्द्रीय सदस्य शिव हुमागाईंले भनेका छन् ।

भेलामा नेता गगन थापाले संविधानमाथि नै प्रश्न उठेको बेला कांग्रेसमा आफूहरुको भूमिका बढी खोजी भएको बताए । पार्टीको १३ औं महाधिवेशनमा एउटै समूहमा चुनाव लड्नु विशिष्ट परिस्थिति भएको भन्दै उनले भने, ‘अहिले व्यवस्था जोगाउने र चुनावमा कम्युनिस्टलाई परास्त गर्न सक्ने नेतृत्व चाहिएको छ । हामीले खोजेजस्तो कांग्रेस बनाउन योगदान गर्छौं र सामूहिक रुपमा काम गर्छौं ।’

नेताहरुका अनुसार भेलामा सिटौलाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने वा नबन्ने खुलेर बताएनन् ।

तर भेला गर्नुको कारण आफ्नो समूह एकै छ भन्ने सन्देश दिनु पनि भएको नेताहरुले बताएका छन् । १४औं महाधिवेशनमा कांग्रेसभित्रको समीकरण कस्तो हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन । सभापति शेरबहादुर देउवाको समूहमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।