अखिल नेपाल किसान महासंघले भारतमा किसानहरूको जारी आन्दोलनलाई समर्थन एवं ऐक्यबद्धता जनाएको छ । महासंघका अध्यक्ष भैरवराज रेग्मीले बुधबार विज्ञप्ति जारी गर्दै विश्वका विकसित पुँजीवादी र अर्धसामन्ती देशहरूमा सम्पूर्ण किसान साम्राज्यवादी नवउपनिवेशवादी शोषणले पिल्सिरहेको उल्लेख गरेका छन् ।
‘विश्व किसान सम्मेलन कोअर्डिनेसन कमिटी यो विश्लेषणमा एकमत छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘विश्वका विकसित मुलुकहरू अमेरिका, ल्याटिन अमेरिका, युरोपियन युनियन, अस्टे«लियालगायत देशहरूमा समेत साम्राज्यको नवउपनिवेशवादी ९न्यू कोलोनिज्म० को मारमा किसानहरू पिल्सिरहेका छन् । यस प्रकार विश्वभरिका नवउपनिवेशवादको मारमा परेका किसानहरूको एउटै आवाज छ– नवउपनिवेशवादबाट किसानहरूलाई मुक्त गर ।’

आज दक्षिण एसियाका देशहरू नेपाल, भुटान, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्सका किसानहरू यही नवउपनिवेशवादी शोषण, मुख्यतः भारतीय साम्राज्यवादको शोषणमा पिल्सिइरहेको महासंघको भनाइ छ । ‘स्वयं भारत आफै साम्राज्यवादी देश भएकाले साम्राज्यवादी देशहरूसँग प्रतिस्पर्धामा उत्रिन कोसिस गरिरहेको छ । आफ्नो देशमा साम्राज्यवादी एकाधिकार र पुँजीवादी कर्पोरेट कृषिक्षेत्रमा प्रवेश गराई किसानको हक–अधिकारलाई समाप्त पार्ने, भूमिहीन किसानलाई कृषि क्षेत्रबाट बेदखली गर्ने, साना र मध्यम किसानहरूको भू–अधिकारलाई समाप्त पारेर कर्पोरेट प्रणाली स्थापना गर्ने, कृषि उत्पादनमा किसानहरूको हक–अधिकार छिनेर एकाधिकारवादी कर्पोरेट बजार प्रणाली कायम गरिरहेकाले करोडौँ किसानहरू सडकमा फालिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको यो ऐतिहासिक किसान आन्दोलनमा विपक्षीहरूलाई समेत थुन्ने, जेल हाल्ने, हाउस एरेस्ट गर्नेजस्ता गतिविधिहरू बढाएर मोदी सरकार क्रुर दमनमा उत्रेको महासंघको आरोप छ । ‘भारतीय किसानको यो आन्दोलनलाई नेपालका किसानहरूले समर्थन गर्दछन् र साम्राज्यवादीको नवउपनिवेशवादी नीतिको विरुद्ध विश्व किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछन्,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल पनि एक अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएकाले नेपाली किसानहरू सामन्तवाद र साम्राज्यवादबाट पिल्सिरहेको महासंघको जिकिर छ । देशमा राजनैतिक रूपमा पुँजीवादी गणतन्त्र आएता पनि नेपालको अर्धसामन्ती स्वरूपमा परिवर्तन नआएको र राज्यको स्वरूप प्रतिक्रियावादी रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिक्रियावादी राज्यमा आवधिक रूपमा शासन गर्ने वामपन्थी मार्काका पार्टीहरूको ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्रका कारणले यो प्रतिक्रियावादी राज्य संरचनालाई फेर्ने दिशामा उनीहरूको भूमिका अत्यन्त कमजोर रहने गरेको र यथास्थितिमा आफ्नो शासन व्यवस्था सञ्चालन गर्न साम्राज्यवादी, एकाधिकार पुँजीवादी व्यवस्थासँग साँठगाँठ गरेर शासन व्यवस्था चलाइरहेकाले किसानका समस्याहरू झन् जटिल बन्दै गइरहेको छ र कृषि क्षेत्रमा एकाधिकार पुँजीवाद र कर्पोरेट प्रणाली छिर्न थालेको छ ।’
यसका लागि अखिल नेपाल किसान महासंघले एकल संघर्ष अगाडि बढाउनुका साथै संयुक्त किसान आन्दोलन पनि अगाडि बढाइरहेको विज्ञप्तिमा उल्लेख छ ।











