एसिड हान्ने र बेच्ने ब्यापारीमाथि १५ वर्षको सजाय मागगर्दै अभियोग पत्र दर्ता

एसिड प्रहार गर्ने दुईजनामाथि जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर भएको छ।

श्रीमतीमाथि एसिड प्रहार गर्ने पतिसहित दुईजना विरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा बुधबार अभियोगपत्र दायर गरेको सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए।

गत कात्तिक १९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए।

यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान साह र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको पत्रकार सम्मेलन मार्फत न्यायाधिवक्ता अर्यालले जानकारी दिएका छन्।

जिल्ला न्यायधिवक्ता अर्यालले दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदावी गरिएको बताए।

पतिले एसिड प्रहार गर्नुभन्दा एकदिन पूर्व नागेन्द्र साहको निखिल स्टोरबाट ८० रुपैयाँमा एक वटा बियरको बोतलमा एसिड खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ भने हाल काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ। त्यस्तै एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको पाइएको छ।