कांग्रेस नेता पौडेललाई तीन घन्टा हिरासतमा राखेर छाडियो

निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।

उनलाई करिब तीन घन्टा हिरासतमा राखेर प्रहरीले छाडेको हो।

ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा कांग्रेसका वरिष्ठ नेता पौडेलसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेलगायतलाई प्रहरीले पक्राउ गरेको थियो। नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै प्रशासनले निषेधाज्ञा लगाएको बेला पुल उद्घाटन गर्न लागेको भन्दै पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।

पौडेललगायत नेताहरुलाई तनहुँ जिल्ला समन्वय समितिका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको हो।

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेताहरु विमलेन्द्र निधि, गगन थापाहरुलगायतले विरोध गरेका थिए।