दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।
त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।
उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए।
यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ।
जोले बालबालिकालाई यौन शोषणबाट जोगाउने कानुन उल्लङ्घन गरेको तथा नाफा कमाउन आपत्तिजनक भिडिओ बनाउने र बेच्ने आपराधिक गिरोह सञ्चालन गरेको ठहर जिल्ला अदालतले गरेको थियो।
धाकधम्की दिएर हात पारेका भिडिओहरू उनको गिरोहले टेलिग्राम एपका गोप्य च्याटरूममार्फत् बेच्थ्यो।
यो मुद्दाले दक्षिण कोरियामा ठूलो आक्रोश उत्पन्न गराएको थियो।
पचास लाख मानिसले आरोपितको नाम गोप्य नराख्न आग्रह गर्दै हस्ताक्षर गरेपछि गत मार्च महिनामा प्रहरीले २५ वर्षीय जोको नाम सार्वजनिक गरिदिएको थियो।
“मैले दुःख दिएका सबैसँग म माफ माग्छु,” सोलस्थित प्रहरी कार्यालयबाट अन्यत्र लगिँदै गर्दा चोले मार्चमा भनेका थिए।
त्यतिबेला उनले प्रायश्चित्तको भावमा आफू “दुष्ट” भएको स्वीकार्दै आफ्नो दुष्कर्म रोकिदिएकोमा धन्यवाद दिएका थिए।
प्रहरीका अनुसार १२४ सन्दिग्ध व्यक्तिहरूलाई समातिएको थियो। गत वर्षदेखि भएका विभिन्न यौन अपराधबारे अनुसन्धान गरेपछि टेलिग्राम र सामाजिक सञ्जालका अन्य माध्यममा च्याटरूप सञ्चालन गर्ने जोसहित १८ जनालाई नियन्त्रणमा लिइएको समाचारसंस्था रोएटर्सले जनाएको छ।











