सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज मध्यान्ह १२ बजे देखि भेला हुँदैछ।
पाँच सयजना उपस्थित हुने भनिएको सो भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ।
भेला आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशकी सचिव हेमा खड्काले खेलाडीलाई सम्मान गर्ने र नेकपाको परिस्थिति अनुसार जबजबारे छलफल पनि गर्ने गरि भेला आयोजना गरेको देश सञ्चारलाई बताइन्।
उनले भनिन,‘ अहिले राजनीति उथपुथल भइरहेको छ। पूर्व एमालेले आत्मसाथ गरेको जबज उत्कृष्ट विचार हो । त्यसबारे छलफल गर्न आवश्यक परेकाले भेला आयोजना गरिएको हो। कर्णालीमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने अर्को हाम्रो उद्देश्य पनि हो।’
खड्काले जबज महत्वपूर्ण भएपनि यसलाई लात मारेर अघि बढ्ने कोशिस भइरहेकाले आफूले जबजका पक्षमा सक्रियता देखाएको बताइन्।
भेलामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल सामेल हुँदै छन्। विशेष अतिथिका रुपमा मदन भण्डारी स्पोट्स एकेडेमी एकेडेमीको केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य सामेल हुँदैछन्।

यस्तै मदन भण्डारी फाउण्डेसनको बुटवल उपमहानगरपालीको अध्यक्ष, मदन भण्डारी स्पोट्सएकेडेमीको फुटवल विभाग प्रमुख र मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल जिल्ला अध्यक्ष सामेल हुँदैछन्।
भेलामा सामेल सबै अतिथिले जबजका पक्षमा बोल्ने छन्। नेकपाका युवा नेता र खेलप्रेमीलगायत सामेल हुने भेला वीरेन्द्रनगरको घण्टाघरस्थित सभाहलमा हुँदैछ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच द्वन्द्व बढ्दै जाँदा ओली पक्षले पार्टी विभाजित गर्नुपर्ने अवस्था आएमा जबजका पक्षमा रहेकाहरु एकै ठाउँमा हुनुपर्ने भन्दै यसबारे प्रशिक्षण र भेलाहरु बढाउँदै लगेको छ।
पूर्वएमालेको जबज र पूर्व माओवादीको २१ सौँ सताब्दीको जनवादलाई छोडेर पार्टी एकताका बेला जनताको जनवादलाई नेकपाले आफ्नो तात्कालिन कार्यक्रमको रुपमा घोषणा गरेको थियो।
विवाद चर्किदै गएपछि प्रचण्डले ओलीविरुद्ध सचिवालय बैठकमा प्रस्ताव पेश गरेकोमा त्यसको काउन्टरमा आफूले पनि प्रस्ताव पेश गर्नुपर्ने अडान लिएपछि नेकपा सचिवालय बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। नेकपामा पछिल्लो पटक डेढ महिनायता विवाद चर्किरहेको छ।











